ह्योल्मो समुदायको आस्था केन्द्र
बौद्ध धर्ममा अटल आस्था र बिश्वास राख्ने धार्मिक स्वभावका ह्योल्मो आदिबासी जनजातिहरुको धर्म, संस्कृति, परम्परा तथा संस्कारको संरक्षण सम्बद्र्धन तथा बिशेष गरेर बौद्ध धर्मको माध्यमबाट ब्रह्माण्डमा रहेका सम्पूर्ण प्राणी जगतको उद्धारको लागि आवश्यक धार्मिक तथा सामाजिक क्रियाकलापहरु संचालन गर्नको निमित्त ह्योल्मोहरुको एउटा धार्मिक संस्थाको आवश्यकताको महशुस गरी बि.स. २०५० सालमा ह्योल्मो समाज सेवा केन्द्रको स्थापना भएको हो ।
ह्योल्मो समाज सेवा केन्द्र एक गैरसरकारी संस्था हो । यस संस्थाबाट आदिवासी जनजाति ह्योल्मोको विकासको निम्ति कार्यहरूको साथै बौद्ध धर्मसंग सम्बन्धित विभिन्न पूजा पाठहरू ‘ह्योल्मो जब्साङ्ग देक्षेन होशाल छ्योलिङ्ग गुम्बा’ बाट नियमित रूपमा सञ्चालित हुँदै आएको छ । यो केन्द्र ह्योल्मो समुदायको एक चिनारी, इतिहास र भविष्यको केन्द्रविन्दु हुने निश्चित छ । त्यसैले यसलाई जोगाइराख्न र क्रियाशील बनाउन सधैं तत्पर रहनु हाम्रो कर्तव्य र दायित्व हुन आउँछ । ह्योल्मो जब्साङ देछेन होशाल छ्योलिङ्ग गुम्बाको नाम श्रद्धेय धर्म गुरु क्याब्जे पेनोर रिन्पोछेज्यूले नामाकरण गर्नुभएको हो ।
यो गुम्बा सम्पूर्ण ह्योल्मोहरूको एकता र मिलनको केन्द्रका रूपमा रहेको छ । जसलाई ह्योल्मो किदुक छोक्पा अर्थात् ह्योल्मो समाजसेवा केन्द्र नामकरण गरिएको छ । सम्पूर्ण ह्योल्मो समुदायको आफ्नै पहल र सहयोगबाट नै यस गुम्बाको निर्माण सफल भएको हो । यस गुम्बामा ह्योल्मो समुदायका वार्षिक चाड पर्व र पूजा पाठहरू छेच्यु, ङयुङ्ने, बुद्ध जयन्ती, मणिदुङग्युर, काँग्युर वाचन आयोजना हुँदै आएको छ । वार्षिक रूपमा हुने प्रत्येक कार्यक्रमको छुट्टाछुट्टै उपसमितिले व्यवस्थापन गरिँदै आइरहेको छ ।
‘ह्योल्मो जब्साङ देक्षेन होशाल छोलिङ गुम्बा’को निर्माण सम्पन्न गरी ‘श्रद्धेय गुरुहरू क्याप्चे ढुक्पा रिन्पोछे’ र ‘क्याप्चे ङावाङ तेन्जेन रिन्पोछे’ ज्यूबाट समुद्घाटन सम्पन्न गरिएको थियो । ह्योल्मो समुदायद्वारा स्थापित ह्योल्मो समाज सेवा केन्द्रको मातहतमा गुम्बाको निर्माण सम्पन्न भएको हो । हाल गुम्बामा साधारण र आजीवन सदस्य, घरधुरी सदस्य गरी जम्मा ७४६ जना सदस्यहरू आबद्ध रहिसकेका छन् । हाल यस गुम्बाको कार्यसमिति अध्यक्षको रूपमा श्री ढाक्पा दोर्जे ह्योल्मो हुनुहुन्छ भने कार्यसमितिका पदाधिकारी र विभिन्न उपसमितिहरू गरी १५० जनाले केन्द्रको सञ्चालनमा सहयोग पु¥याइरहेका छन् ।
कुनै बाहिरी सहयोगमा नअल्झी आफ्नै आन्तरिक स्रोतबाट बनेको नमुना गुम्बा÷सामुदायिक भवनको रूपमा रहेको छ । सामाजिक कार्यहरू जस्तै विवाह, मृत्यु र ह्योल्मो समुदायको चाडपर्वमा समुदायका सबैले यसको उपयोग गर्न पाउँछन् । गुम्बाको छुट्टै भव्य भवन छ भने व्यवस्थित चर्पीको साथै ढल व्यवस्थापनको पनि व्यवस्था छ । अरू ह्योल्मो तथा बौद्ध धर्मसंग सम्बन्धित संघ संस्थासंग यसको राम्रो सम्बन्ध रहेको छ ।
यस केन्द्रले आफ्नो लक्ष्य प्राप्तिको लागि विभिन्न धार्मिक, साँस्कृतिक तथा सामजिक बिकासका कार्यक्रमहरु सञ्चालन गर्दै आफ्नो नियमित कार्यक्रम सञ्चालनको साथसाथै समय सापेक्षित मर्मत सम्भार तथा बिकास निर्माणका कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको छ । गाउँमा मानिने चाडपर्व तथा पूजाआजालाई यसले निरन्तरता दिँदै आएको छ । यसले युवादेखि वृद्ध वृद्धा सम्मलाई ओगट्न सफल भएको छ । यहाँ विभिन्न सामाजिक कार्य हुनुका साथै अरूलाई रक्तदान कार्यक्रमका लागि निःशुल्क हल उपलब्ध गराइन्छ । विभिन्न ठाउँमा छरिएर बसेका ह्योल्मोहरूलाई यसले एकै ठाउँमा एकीकृत गरेको छ । यस केन्द्रले ह्योल्मो जातिको परम्परागत, सांस्कृतिक, जातीय, ऐतिहासिक पहिचानलाई सोधखोज र संरक्षण गर्ने कार्य गरेको छ । बुद्ध धर्मको रीतिरिवाजअनुसार संस्कृति र सभ्यताको संरक्षण संवद्र्धन गर्दै सामाजिक तथा परोपकारी कार्यक्रमहरू सञ्चालन गरिदै आएको छ । आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर रुपमा धार्मिक, साँस्कृतिक एवं सामाजिक विकासका कार्यक्रम सफलता पूर्वक सम्पन्न गर्न सकरात्मक उपलब्धि हुनुमा सदस्यहरुको योगदान महत्वपुर्ण रहेको छ ।
२०७२ वैशाखमा देशमा गएको महाविनाशकारी भूकम्पले अकल्पनीय रुपमा मानवीय र भौतिक क्षति हुनुको साथै ऐतिहासिक, सांस्कृतिक एवम् पुरातात्विक महत्वका सम्पदा क्षति हुने क्रममा ह्योल्मो जातिको पहिचान तथा आस्थाकोे केन्दको रुपमा यस गुम्बा सो विनासकारी भूकम्पबाट अछुतो रहन सकेन, भवनको मुख्य भागहरु धेरै क्षति भएको थियो। सोको पुनर्निर्माण र जिर्णोद्वार सम्पूर्ण सदस्य महानुभावहरुको महत्वपूर्ण सहयोगमा सम्पन्न भएको सु–अवसरमा नेपाल सरकारको सम्माननीय राष्ट्रपति श्रीमती विद्या देवी भण्डारीज्यूको समुपस्थितिमा ह्योल्मो गुम्बाको समुद्घाटन गर्नु भई श्रद्धेय धर्म गुरु क्याब्जे दुज्योम ह्याङ्सी रिन्पोछेज्यूको अगुवाईमा विविध धार्मिक पुजा पाठका साथमा प्राण–प्रतिष्ठा राप्ने कार्यक्रम सम्पन्न गर्दै सोही अवसरमा ह्योल्मो समुदायबाट ल्हो–सुम डुप्पा (३ वर्ष तीन महिना विशेष ध्यान) बस्न सफल हुनु भएका लामाज्यूहरुमा प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो । यस केन्द्र ह्योल्मोहरुको एक चिनारी, इतिहास र भविष्यको केन्द्र विन्दु हुने भएकोले हामी ह्योल्मोहरुले यसलाई जोगाई राख्न, क्रियाशिल बनाउन र उत्कृष्ट स्थापना गर्न, सधैं–सधैं तत्पर रहनुपर्ने हाम्रो कर्तव्य र दायित्व हो ।
यस गुम्बाले आफ्नो गौरवमय २५ औं वसन्त पार गरेको अवसरमा यस गुम्बालाई यो उच्चतम विकासको अवस्था सम्म ल्याई पु¥याउन मन, वचन र कर्मले विशेष योगदान पु¥याउनु हुने सम्पुर्ण शुभेच्छुक÷शुभचिन्तक महानुभावहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ । हरेक कार्यक्रमहरुलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने स्थापनाकाल देखि हाल सम्मका सम्पूर्ण समितिहरुमा आभार एवं कृतज्ञता प्रकट गर्दछ । यस केन्द्रको नीति निर्माण एवं प्रगतिमा सक्रिय योगदान पु¥याई रहनु भएका सल्लाहकारज्यूहरु प्रति कृतज्ञता व्यक्त गर्दछ । त्यसै गरी सँस्थाकोे विकास तथा कार्य संचालनमा अथक परिश्रम गर्ने सम्पूर्ण सदस्य महानुभावहरु लगायत कर्मचारीहरुमा धन्यवाद ज्ञापन गर्दै यस केन्द्रको विकास एवम् उन्नतिको लागि अगामी दिनहरुमा पनि यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोग यस केन्द्रले पाइ नै रहने छ भन्ने आशा एवम् विश्वास व्यक्त गर्दछ ।
ह्योल्मो समाज सेवा केन्द्रको उद्देश्य
- असहाय पिडित, कमजोर, असमर्थ, बौद्ध धर्मावलम्वीहरुलाई मद्दत सहयोग गर्ने ।
- बौद्ध धर्ममा आस्था राख्ने जो कोही परलोक भएका व्यक्तिहरुको धार्मिक प्रकृया अनुसार लाश सदगत तथा काजकिरिया गर्ने गराउने व्यवस्था मिलाउने र वैवाहिक सम्वन्धका कार्यहरु गर्ने गराउने ।
- बौद्ध धर्मावलम्वीहरुको जन्म, ब्रतबन्ध, बिबाह जस्ता सामाजिक कार्यहरुको लागि आवश्यक व्यवस्था गरिदिने ।
- विरामी तथा असक्षम व्यक्तिहरुको स्वास्थ्य सुविधा तथा रेखदेख हेरचाहको व्यवस्था गरिदिने ।
- धर्मगुरु, अवतारी तथा अन्य लामाहरुवाट पूजा पाठ र प्रवचन कार्य गर्ने व्यवस्था मिलाउने ।
- यस्तै उद्देश्यले गठन भएका अन्य संस्थाहरुको सहयोग लिने दिने ।
- सम्वन्धित निकायको स्वीकृति लिई गुम्बाहरुको निर्माण तथा मर्मत गर्ने ।
- शान्ति सहिष्णुता जस्ता बुद्ध धर्मका उपदेशहरु पालन गर्ने गराउने ।
- बुद्ध धर्मको शिक्षा दिक्षा दिलाउने व्यवस्था गर्ने ।
- समुदायको स्वास्थ्य सेवाका लागि विभिन्न स्वास्थ्य सेवामुखी कार्यक्रम तथा एम्बुलेन्स सेवा संचालन गर्ने ।
- केन्द्रले विभिन्न समुदायमा आपत्कालिन अवस्थामा सामाजिक, आर्थिक सहयोगका कार्यहरु गर्ने ।
- यो संस्था गैर–राजनीतिक, गैर–सरकारी, एक कल्याणकारी, जनहितकारी सामाजिक संस्था रहेर समुदायको हितमा काम गर्ने ।
- वर्तमान अवस्थामा ग्रामीण क्षेत्रहरुमा बुद्ध धर्म संस्कार सम्बन्धी विकृती विसंगती रहेको हुँदा उक्त कार्यलाई क्रमिक प्रशिक्षण सिविर गोष्ठीद्वारा सुधार गराउँदै लाने ।
- देश विदेशका समान उद्देश्य भएका बौद्ध संघसंस्थाहरुसँग सम्पर्क, समन्वय र एकता गरी मानव कल्याणको लागि मिलेर काम गर्ने तथा अन्तरकृया गरी बुद्ध धर्मको विकास गर्ने ।
ऐतिहासिक स्थान, गुम्बा, कला, कलाकृति तथा संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने । - बौद्धमार्गीहरुको उत्थानका लागि भाषा, धर्म, संस्कृतिको संरक्षण, सम्बद्र्धन र विकास गर्ने ।
- बौद्ध दर्शन शिक्षाका लागि तालिम, सेमिनार, सम्मेलन, गोष्ठी सञ्चालन गर्ने ।
- बौद्ध दर्शन अध्ययनका लागि पुस्तकालयको स्थापना गर्ने ।
- बौद्ध दर्शनसम्बन्धमा विभिन्न अध्ययन, अनुसन्धान गर्ने तथा लेख, पत्रपत्रिका, पुस्तिका प्रकाशित गर्ने ।
- बौद्धमार्गीहरुकोे जनजीवन माथि उकास्न समितिले स्वास्थ्य, शिक्षा तथा आर्थिक क्षेत्रलाई सुधार्ने जस्ता विविध आवश्यक कार्य समेत गर्ने ।
- केन्द्रको उद्देश्यसँग मेल खाने विषयहरुमा अध्ययन, अनुसन्धान आदि गर्ने ।
- माथि उल्लेखित विषयमा अन्य सरकारी तथा गैरसरकारी संस्थासँग समन्वय गरी कार्य गर्ने ।
- माथि उल्लेखित उद्देश्यहरुसँग मेल खाने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी तथा सरकारी संस्थाहरुबाट आवश्यक सहयोग प्राप्त गर्ने ।
- केन्द्रको उद्देश्य प्राप्तिका लागि अन्य आवश्यक कार्य गर्ने ।
